नेपाल भाषामा म्ये ला । चलनचल्तीमा बफ । कसरी राँगाको मासु खान सुरु भयो होला ?
‘राँगाको मासुबाट ६४ परिकार बन्छ । तिनलाई कम्तीमा ३६ प्रकारले पकाउन सकिन्छ । बढीमा कत्ति कत्ति ।’
राँगाको मासु । नेपाल भाषामा म्ये ला । चलनचल्तीमा बफ । निकै कौतलूहपूर्ण छ, यससँग जोडिएका प्रश्नहरू । कसरी राँगाको मासु खान सुरु भयो होला ?
अनि कसरी मात्र राँगाको मासुको धेरै परिकार तयार भए होलान् ? नेवार जातिले वास्तवमै राँगाको मासुको परिकार कसरी विकास गरे होलान् त ? धेरै अगाडि सिल्भाँ लेभी नेपाल आएका थिए । पूर्वीय संस्कृति र इतिहासका ज्ञाता यी फ्रान्सेली विद्वान्ले पछि नेपालको इतिहास पनि लेखे ।
त्यसमा उनले भनेका छन्, नेवार मासुमा भोगी हुन् । उनको निचोड थियो, नेवारहरू मासुमा धेरै थरीका खान्छन् । खास खाने भने राँगाको मासु नै हो । लेभीलाई पनि अचम्म लागेको रहेछ, किन नेवार जातिले राँगाको मासु खान्छन् त ? उनले त्यसबारे त्यति बेला नै प्रचलित एउटा कथा सुनेका रहेछन् । उनले लेखेका छन्, ‘जति बेला हरिसिंह देव नेपाल आए, बाटामा उनका सेना भोकले मर्न थालेको थिए । राजाले आफ्नो संरक्षक देवी तलेजुलाई प्रार्थना गरे ।
देवीले दर्शन दिएर भोलिपल्ट बिहान जे फला पार्छौ, त्यही खानू भन्ने अनुमति दिइन् । बिहान राजाले एउटा राँगो देखे । राजाले त्यो राँगो देवीलाई चढाए । पछि राँगो काटियो । काटेपछि देवीबाट मासु खाने अनुमति भयो ।’ खासमा वंशावलीले यस्तै भनेको छ । अहिलेको नेवार संस्कृतविद् पनि लगभग यस्तै कथालाई सुनाउने गर्छन् । मल्ल राजाहरूको अभिष्ट देवी तुलजा भवानी हुन् । मल्ल राजाहरूले तुलजा भवानीलाई राजकीय मान दिए ।
पछि काठमाडौंका मल्ल राजाले पनि आफ्ना इष्टदेवीको रूपमा हनुमान ढोकामा तुलजा भवानीको मन्दिर बनाए । ऐतिहासिक र सांस्कृतिक हनुमानढोकामा विशाल र भव्य तलेजु मन्दिर छ । दसैंकै बेला हो तलेजुको विशेष आराधना र पूजा हुन्छ । अनि यिनै तलेजुसँग कुनै न कुनै रूपमा राँगा र यसको मासु जोडिन्छ । यसपछि के कस्तो भने कोहीसँग पनि ठ्याक्कै उत्तर छैन । संस्कृतिविद् रुक्मी श्रेष्ठ मान्छिन्, ‘नेवार संस्कृतिको एउटा अभिन्न अंग राँगाको मासु हो ।’
जन्मेदेखि मृत्युसँग राँगाको मासु चाहिन्छ । राम्रो कामलाई होस, नराम्रो कामलाई, सबैमा राँगाको मासु चाहिन्छ । अनि देवतालाई चल्छ, राँगाको मासु । मानिसको त झन् के कुरा, यो सबै नेवार जातमा चल्छ । अर्का संस्कृतिविद् एकाराम सिंहका अनुसार राँगालाई बलि दिने चलन भारतबाट सुरु भएको हो । पछि यो नेपाल पनि भित्रियो । भारतमा राँगाको मासु त्यति बेला खाइन्न थियो । नेवारले भने खान सिके । यसलाई अझ परिस्कृत बनाए ।
सिंह त राँगाको मासुलाई प्रसाद मान्छन्, किनभने यो देवतालाई पनि चल्छ । उनी यसलाई शक्ति सञ्चय गर्ने प्रक्रिया मान्छन् । राँगाको मासुसँग देवता, पीठ आदि कसरी जोडिएका छन्, उनीसँग त्यसको लामो फेहरिस्त छ । यससँगै जोडिएर अष्ट मातृकाको प्रसङ्ग आउने गर्छ । त्यो अर्थमा राँगाको मासुसँग जोडिएको दर्शन अलग्गै छ । यो लामो पनि छ । उनी के मान्छन् भने नेवारहरूले सुरुमा भेंडाको मासु खान्थे । पछि राँगाको मासु खाए । र, त्यसमै पल्के ।
रमाइलो के भने राँगोको मासुको परिकारका लागि टाउकोदेखि पुच्छरसम्म प्रयोग हुन्छ, फ्याल्नैपर्ने विकारलाई छाडेर । लेखिका उमा श्रेष्ठले राँगाको मासु र यसको परिकारबारे लामै अनुसन्धान गरेकी छन् र त्यससम्बन्धी सानो पुस्तक पनि लेखेकी छन् । उनका अनुसार राँगाको शरीरका त्यस्ता ६७ भाग छन्, जुन थरीथरीको परिकार बनाउन प्रयोग हुन्छ । लगभग सबै नेवार संस्कृतविद् के मान्छन् भने राँगाको मासुबाट ६४ परिकार बन्छ । त्यसमध्ये केही लोप पनि भइसके । धेरै भने अहिले पनि जीवन्त छन् । निरन्तर चलिरहेका छन् ।
लेखिका श्रेष्ठका अनुसार यी ६४ परिकारलाई कम्तीमा ३६ प्रकारले पकाउन सकिन्छ । बढीमा कत्ति कत्ति । लेखिकाले प्राचीन मल्लकालमा भक्तपुर दरवारभित्र बनाइने राँगाको मासुको परिकारबारे पनि उल्लेख गरेकी छन् । भनिरहनु पर्दैन, राँगाको मासुको परिकार समयअनुसार फेरिंदै पनि आएका छन् । सायद केही नयाँ थपिएका पनि छन् ।
त्यसो भए, राँगाको मासुबाट बन्ने मुख्य मुख्य परिकार के–के हुन् त ? सबैभन्दा पहिले त:खा र सन्याखुना । राँगाको मासुको मुख्य परिकारमा पर्छ, त:खा । यसलाई बनाउने समय पनि निश्चित छ, जुन दसैं पनि सुरु हुन्छ र श्रीपञ्चमीसम्म चल्छ । मासु पकाएपछि त्यसलाई जमाएर त:खा तयार हुन्छ । त:खा बनाएर जोगिएको झोलबाट सन्याखुना बन्छ । राँगाको मासुका परिकारमध्ये सबैभन्दा पुरानामा पर्छ, दायेका ला । यो भोजमा हुनैपर्छ, अनिवार्य जस्तै ।
त्यसैले त दायेका ला राखेर मात्र भोज सुरु हुन्छ । गोर्मा धेरैले कमले खाएको हुनुपर्छ । तर जतिले खान्छन्, यसका राम्रै पारखी हुन्छन् । यो लगभग त:खाजस्तै हो, तर यसमा पुराना मासु प्रयोग गरिन्छ । नेवार जातिमा धेरै अगाडिदेखि तिब्बतको ल्हासामा भएर व्यापार गर्ने चलन थियो । विश्वास गरिन्छ, यो राँगाको मासुको परिकार उतै तिब्बतबाट आएको हुनुपर्छ । मासुलाई निकै सानो सानो टुक्रा बनाएर एउटा विशिष्ट स्वादिलो परिकार बन्छ– छ्याल्ला ।
उसिनेर खाने भयो, मनाला । अनि फ्राई गरेर खाने, पुकाला । पुकाला मात्र २० भन्दा बढी थरीका हुन्छन् । सायद त्यसमा विशिष्ट परिकार स:पू म्हिता पुका हुन सक्छ । कचिला पनि आफैंमा लोकप्रिय छ । कचिला एक प्रकारले काँचो मासुकै परिकार हो । राँगाको मासुका परिकारमध्ये सबैभन्दा लोकप्रिय र बढी सुनिने सायद छ्वयला हो । प्राय: सबैले खान रुचाउने पनि छ्वयला नै हो । त्यो अर्थमा धेरैले खाने । तर धेरैले के सुनेका हुन्न भने छ्वयला पनि कम्तीमा एक दर्जन प्रकारका हुन्छन् । जस्तो, मना छ्वयला, हाक छ्वयला, त:कू छ्वयला, भाजं छ्वलया, मखमल छ्वयला, रेसम छ्वयला आदिआदि । स्टिम गरेर खाने त हायेला भयो । साँधेर खाने वालेगु ला । सायद लोप हुने क्रममा छ, किमाला । किमालामा चामलको धूलो मिसाइन्छ । यसरी परिकारको सूची लामै बन्छ र यसमा जोडिने छन्, हिंला, पंला, बुल्ला, छकुला, जँला, लाग्व, लापि, चुंला, लकुला आदि आदि । राँगाको मासुलाई पकाएर अर्कै मासुको स्वाद पनि निकाल्ने गरिन्छ ।
जस्तो भेडाको मासुको स्वाद आउने वाँया ला । अनि हाँसको मासुको स्वाद दिने हेंय्ला । दुवै अवसरमा अदुवालाई विशिष्ट प्रकारले प्रयोग गरिन्छ । हुँदाहुँदा त्यस्तो कुनै तरकारी हुने गर्दैन, जुनसँग राँगाको मासु मिसाउन सकिन्न । वास्तवमै प्रश्न निकै कौतूहलपूर्ण छ, राँगोको मासुमा त्यस्तो के छ, जुन अरूमा छैन । र, धेरैलाई यसले लोभ्याउने पनि गर्छ ? गैर नेवारलाई पनि यसले उत्तिकै लोभ्याएको छ । सायद यसको उत्तरमा हाम्रो धर्म, इतिहास, संस्कृति, परम्परा, संस्कार अरू धेरै लुकेको छ ।
0コメント