सुनको अक्षरले लेखिँदैछ ७९५ वर्ष पुरानो बौद्ध ग्रन्थ

सुनको अक्षरले लेखिँदैछ ७९५ वर्ष पुरानो बौद्ध ग्रन्थ
 
 
सबिना श्रेष्ठ

काठमाडौं, 


   

 पाटनको 'गोल्डेन टेम्पल' मा सुनको अक्षरले बौद्ध ग्रन्थ प्रज्ञापारमिता लेखिँदै।
 
‘गोल्डेन टेम्पल’ भनेर चिनिने पाटनको हिरण्यवर्ण महाविहार (क्वः बहा) मा सुदनरत्न शाक्य ७ सय ९५ वर्ष पुरानो बौद्ध ग्रन्थ 'प्रज्ञापारमिता' लाई सुनको अक्षरले रंगरोगन गर्दै थिए।
धेरैलाई सुनको अक्षर भन्नाले सुनजस्तै देखिने रंग हो कि भन्ने लाग्न सक्छ। तर, यो सुनौलो अक्षर मात्र होइन, सुनलाई नै घोटेर त्यसको धूलोले लेखिएको हो। यसको निम्ति दाताहरूले ढिक्का सुन नै दान गर्छन्।
यहाँ सुनको धूलोले कसरी लेखिन्छ त भन्ने प्रश्न उठ्न सक्छ। सबभन्दा पहिला त्यसैबारे कुरा गरौं।
आलसको बियाँ पानीमा उमालेर लेदो बनाइन्छ। 'टिसिपु' भनिने यो आलसको लेदो गमका रूपमा प्रयोग गरिन्छ। त्यसपछि सुनको मसिनो ढिक्कालाई टिसिपुमा घोटेर रंग तयार पारिन्छ।

यसरी ढिक्का सुन तरल रंगमा परिणत हुन्छ र त्यसैमा ब्रस चो
बल्दै अक्षर लेखिन्छ।
सुदनको एउटा हातमा ब्रस थियो। उनी भुइँमा पलेँटी मारेर बसेका थिए। काखमा प्रज्ञापारमिताको फोटोकपी थियो। त्यही फोटोकपीका पाना हेर्दै उनी आफ्नो अगाडि राखिएको प्रज्ञापारमिताका धूमिल अक्षरमा रंग भर्दै थिए।
यसो गर्ने उनी एक्लै थिएनन्। हिरण्यवर्ण महाविहारका अन्य गुठीयार पनि वरिपरि थिए। तिनैमध्ये मोतिरत्न शाक्य रंग भर्न बाँकी पानाहरू मिलाउँथे। च्यातिएको ठाउँ टालटुल पार्थे। ग्रन्थको बाहिरी भाग सफा गर्ने र रंगाउने जिम्मा उनको थियो भने अक्षरहरूमा सुनको रंग भरेर गाढा बनाउने जिम्मा अरूको।

डाक्टरले बिरामी अपरेसन गरेजत्तिकै मिहिन यो
काम मलमासको एक महिने अवधिमा गरिँदैछ। महाविहारमा हरेक दिन बिहान ८ देखि ११ बजेसम्म यो काम चल्छ। यसमा सुदनझैं अक्षर रंगरोगन गर्ने पाँच जना र किताबका पाना मिलाउने चार जना संलग्न छन्।यसबाहेक सुन पिस्ने, ग्रन्थ मिलाउने लगायत काम अन्य गुठीयारले गर्छन्।
प्रज्ञापारमितामा अक्षर भर्न सुन घोटिँदै। 
अब हामी प्रज्ञापारमिताबारे कुरा गरौं।
प्रज्ञापारमितामा प्रज्ञाको अर्थ ‘बुद्धि’ र पारमिताको ‘पूर्णता’ हो। महायान बौद्धधर्ममा प्रज्ञापारमितालाई महत्वपूर्ण ग्रन्थका रूपमा लिइन्छ, जसको अर्थ हुन्छ- बुद्धिको पूर्णता। 
विश्वका जुन-जुन देशमा महायान बौद्धधर्म फैलिएको छ, त्यहाँको बौद्धहरूमाझ प्रज्ञापारमिताको दार्शनिक महत्व मात्र होइन, सांस्कृतिक र व्यवहारिक महत्व पनि उत्तिकै पाइन्छ। बोधिसत्व मार्गका आवश्यक तत्वहरू यसमा उल्लेख छन्। यसको पाठ र अभ्यासको मूल उद्देश्य बुद्धत्व प्राप्ति हो।
आजभन्दा २५ सय वर्षअघि गौतम बुद्धले १ हजार ३ सय ५० जना भिक्षुलाई प्रवचन दिएको ज्ञान नै ८ हजार श्लोकमा यसमा उल्लेख गरिएको छ। राजा अभय मल्लको पालामा आनन्द भिक्षुले यो ग्रन्थ तयार पारेका हुन्। यसमा ‘कापित नगर’ भन्ने ठाउँबारे उल्लेख छ। यो कश्मिर हुनसक्ने गुठीयारहरूले अनुमान गरे पनि ठ्याक्कै कहाँको हो भन्ने थाहा नभएको उनीहरू बताउँछन्।

किम्बदन्तीअनुसार कापित नगरका एक ब्राह्मणको
घरमा नवदुलही विवाह गरेर भित्रिइन्। उनलाई नयाँ ठाउँबारे राम्ररी थाहा थिएन। बिहान शौचालय कहाँ जाने भन्ने अन्यौल भएछ। उनले यज्ञशालामै शौच गरिन। त्यो सुनमा परिणत भएछ।
यो कुरा एक कान, दुई कान हुँदै चारैतिर फैलियो। पछि सबै ब्राह्मणले आफ्ना नवदुलहीलाई यज्ञशालामा शौच गराउन थाले। घर-घरमा सुन फालाफाल भयो। सुनले ग्रन्थहरू लेखिए।
एक धर्मात्मालाई भने यो काम अलि निको लागिरहेको थिएन। धर्मकै विपरीत भयो भन्ने भएपछि उनी सबै ग्रन्थ बोकेर नगरबाट बाहिर आए। उनी बाहिर आउनेबित्तिकै नगरमा आगो लाग्यो।  
पछि सुरक्षा निम्ति त्यहाँका ग्रन्थ पाटनस्थित बुबहालको यशोधर महाविहार ल्याइयो। महाविहारकी छोरीले विवाह गरेर दाइजोका रूपमा गोल्डेन टेम्पलमा ल्याइन्। त्यही ग्रन्थ प्रज्ञापारमिता हो भन्ने कथन छ।
काठमाडौं उपत्यकाका धेरैजसो महाविहारमा प्रज्ञापारमिता सूत्रको हस्तलिखित पाण्डुलिपि सुरक्षित राखिएको छ, जुन रञ्जना वा प्रचलित लिपिमा लेखिएको छ। पाटनको उकुबहाल, बुबहाल लगायत ठाउँमा पनि प्रज्ञापारमिता छन्।
उकुबहालमा सुनले लेखेको प्रज्ञापारमिता रहेको सुदनरत्नले सुनेका छन्, तर आफ्नै आँखाले देखेका छैनन्। बुबहालमा भने सुनको नभएको उनी बताउँछन्।
त्यस्तै, काठमाडौंको इतुम्बहाल, भगवान
बहाल, पिगंननी लगायत ठाउँमा पनि प्रज्ञापारमिता छन्।
गोल्डेन टेम्पलमा रहेको प्रज्ञापारमिता अन्य ठाउँकोमा भन्दा विशेष छ। अन्य ठाउँमा नेपाल सम्बतको नवौं महिना 'गुँला' मा मात्र यो ग्रन्थ प्रदर्शन र पाठ हुन्छ। गोल्डेन टेम्पलमा भने केही समयबाहेक दैनिक पाठ हुन्छ।
सम्पदा तथा संस्कृति संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधार अन्य ठाउँमा पनि गोल्डेन टेम्पलमा जस्तै दैनिक पाठको अभ्यास चलिआएको तर रोकिएको हुनसक्ने अनुमान गर्छन्।
‘दैनिक पाठ गर्नु आफैंमा चुनौतीपूर्ण काम हो। त्यसमाथि ग्रन्थको सुरक्षा दृष्टिले पनि दैनिक पाठ नभएको हुन सक्छ,’ उनले भने, ‘क्वः बहाले यसलाई निरन्तरता दिनु आफैंमा दुर्लभ कुरा हो।’
दैनिक पाठ हुने भएकैले हातले छुने र पल्टाउने गरिँदा यहाँका पाना बिग्रिएका हुन्छन्। त्यसैले प्रत्येक तीन वर्षमा
मलमासकै समय पारेर ग्रन्थ जीर्णोद्धार गरिँदै आएको छ।
मलमासमै गर्नुपर्छ भन्ने चलिआएको नियम होइन। तर, मलमास यस्तो समय हो जति बेला शुभकार्य, पूजाआजा गर्न राम्रो मानिन्न। यति बेला ग्रन्थ पढ्ने गुर्जु, संरक्षण गर्ने गुठीयारहरू फुर्सदमा हुन्छन्। दैनिक पाठ पनि रोकिने हुँदा जीर्णोद्धार गर्ने उत्तम समय भएको उनीहरू बताउँछन्।
यस वर्ष असोज २ गतेबाट एक महिना मलमास छ। यसैबीच ग्रन्थ जीर्णोद्धार सकिने गुठीयारहरू बताउँछन्।
आजभन्दा ७ सय ९५ वर्ष पुरानो ग्रन्थ भए पनि करिब ४ सय वर्षअघि सिद्धिनरसिंह मल्लको पालामा जीर्णोद्धार भएको यसमा उल्लेख छ। निरन्तर जीर्णोद्धार गर्न थालिएको करिब २० वर्ष भयो। सुदनरत्न त्यही बेलादेखि प्रज्ञापारमिता जीर्णोद्धारमा जोडिएका हुन्।
उनी पेसाले काठ–धातुमा बुट्टा कोर्ने कालिगढ हुन्। रञ्जना लिपिको काम पनि गर्ने दक्षता पहिल्याएर गुठीयारहरूले बोलाएको उनी बताउँछन्।
सुरूआती दिनमा जीर्णोद्धार गर्दाको कठिनाइ सुदनलाई ताजै छ। रञ्जना लिपि जानेको भए पनि लामो समय जीर्णोद्धार नभएको प्रज्ञापारमिता उनीहरूका लागि नयाँ थियो। ग्रन्थमा लेखिएको र उनीहरूले चिनेका अक्षर पनि सजिलै बुझिन्थेन। त्यही अलमलले सुरूमा जीर्णोद्धार गर्न दुई महिना लागेछ। 
अहिले त योपछि यो शब्द आउँछ भनेर उनीहरूलाई कण्ठै भइसक्यो। दैनिक पाठ गर्ने गुर्जुहरूलाई त झन् सूत्रजस्तै।
यहाँका गुठी सदस्यहरू शाक्य हुन् भने गुर्जु बज्राचार्य हुन्छन्। तीन सय पन्नाको ग्रन्थलाई १० जना गुर्जुले ३०–३० पन्ना गरेर करिब डेढ घन्टामा पढी सक्छन्। प्रत्येक दिन बिहान ७ देखि ८ बजेबाट पूजाआजा सुरू गरेर पढ्न थालिन्छ। करिब ४ घन्टामा यहाँका पूजापाठ सकिन्छ।
गुर्जुहरू त पढेर फर्कन्छन्। गुठीयारहरूको काम भने किताब मन्दिरभित्र नराखेसम्म सकिन्न। ग्रन्थ झिक्ने र राख्ने दुई गुठीयार दाजुभाइको पालो विहारले नै तोकेको हुन्छ। सिल गरेर राखिएको ग्रन्थ खोल्नेलाई ‘चिंछ्या’ भनिन्छ भने राख्नेलाई ‘चिंदी’।
पाठ गरेपछि चिंदीले किताब सिल गरेर लाहाछाप लगाउँछन् र मन्दिरको बाफाचालाई जिम्मा लगाउँछन्। 
बाफाचालाई बहालको पाले मानिन्छ, जुन शाक्य समुदायबाट विहारका लागि छानिने ६ देखि १२ वर्ष उमेरका मूल पुजारी हुन्। उनीसँगै अर्का सहायक पुजारी रहन्छन्, जो उनीभन्दा ठूला हुन्छन्।
यहाँ हरेक महिना औंसीको भोलिपल्ट परेवा तिथिमा मूल पुजारी फेरिन्छ। नयाँ पुजारी छनौट गर्दा विहारका सदस्यबाटै छानिन्छ। पुजारी छान्ने बेला भएपछि जसको पालो हो, उसलाई चिठी पठाएर खबर गरिन्छ। औंसीको दिन बेलुकी बाफाचाको पूजा हुन्छ।
महाविहारअन्तर्गतको शाक्य समूहमा हजारभन्दा बढी सदस्य छन्। एउटाको पालो आउन करिब ५५ वर्ष लाग्छ। यति लामो समयपछि पालो आउने भएकाले बाफाचा बन्न पाउनेहरू आफूलाई भाग्यमानी ठान्छन्।
महाविहारमा साना मूलपुजारी राख्नुपछाडि पनि किम्बदन्ती छ।
कुनै समय पाटन राज्यलाई किराँत राजाको अत्याचारबाट साना बाफाचाले मुक्त पारेका थिए भन्ने कथन छ।
किम्बदन्तीअनुसार ‘अत्याचारी’ किराँत राजाले १२ वर्षभन्दा बढी उमेरका मानिसलाई बाटोमा देख्यो कि मार्ने आदेश दिएछन्। यसबाट जनता त्राहीत्राही भए। एक जना बालकले यही अत्याचारबाट मुक्ति दिलाएपछि उनको सम्मानमा ६ देखि १२ वर्ष उमेरका केटाकेटी मुख्य पुजारी राख्न थालियो।
ती साना बालकले राजाको अत्याचार कसरी तोडे भन्ने पनि कथा छ।
राजाको आदेशले विहारका पुजारीलाई आपत परेछ। बुद्धको पूजा गर्न नपाइने भएकाले उनलाई पीर पर्यो। त्यसैले, आफ्नो १२ वर्षमुनिको छोरालाई जल लिएर बुद्धको मुख धुन पठाए।
ती बालक बुद्धको मुख धोइदिन मूर्तिअगाडि पुगे। उनले बारम्बार बुद्धलाई मुख धुन बोलाए। बुद्ध आएनन्। बालक रुन थाले। रोएको देखेर बुद्ध प्रकट भएछन्।
‘मेरो मुख धुन सधैं तिम्रो बुबा आउनुहुन्थ्यो, आज किन तिमी आयौ?’ बुद्धले सोधेछन्।
ती बालकले राजाको अत्याचारदेखि मानिस मार्ने आतंकसम्मको सबै घटनाको विस्तार लगाएपछि बुद्धले भनेछन्, ‘तिमी आज घर गएर भात चढाऊ। भातबाट मौरी उत्पन्न हुनेछ। र, त्यही मौरीदेखि डराएर किराँतीहरू भाग्नेछन्।’
बालकले त्यसै गरे।
नभन्दै किराँत राजा आफ्ना भाइभारदारसमेत कुलेलाम ठोकेछन्।
त्यसै दिनबाट हिरण्यवर्ण महाविहारमा १२ वर्ष मुनिका पुजारी राख्न थालिएको भनाइ छ। उनले बुद्धको मुख धोएर पूजाआजा र नित्यकर्म गर्छन्। उनी एक्लैले गर्न नसक्ने भएकाले ठूलो पुजारीलाई सहयोगी राखिन्छ।
हिरण्यवर्ण महाविहारका पुजारी। तस्बिर: निशा भण्डारी/सेतोपाटी
बाह्रौं शताब्दीमा राजा भास्करदेव वर्माले यो महाविहार स्थापना गरेका हुन्। मुसाले बिरालो लखेट्ने अनौठो ठाउँ खोज्दै जाँदा यो ठाउँ फेला परेको मान्यता छ। त्यही भएर बाफाचाले बेलुकी विहारभित्र ठाउँ–ठाउँमा मुसालाई भात राख्ने नियम छ।
कुनै दिन मन्दिरमा मुसालाई भात राख्न बिर्सिए पुजारी बिरामी हुने, मन्दिरका गरगहना हराउने र अनिष्ट हुने भनाइ छ।
प्रज्ञापारमिता बाफाचालाई जिम्मा दिएपछि उनले मन्दिरभित्र बुद्धको मूर्ति नजिक राख्छन्। प्रज्ञापारमिता राखेकै कारण सुरक्षाका हिसाबले पनि दिनभर मन्दिर बन्द गरिन्न। 
प्रज्ञापारमिताको ज्ञान सुन्यतासँग जोडिएको छ। सबै कुराको सुरूआत र अन्त्य सुन्यतासँग जोडिने यसको दर्शन हो। यसको दर्शन बोध गर्न सके संसारको दुःखबाट पार हुने विश्वास छ। 
प्रज्ञापारमिता दैनिक पाठ गरिने भए पनि विशेष अवसरमा मान्छेको अनुरोधमा पनि पाठ गरिन्छ। कुनै समय राजपरिवार बिरामी पर्दा वा कुनै शुभ कार्य गर्दासमेत यहाँ प्रज्ञापारमिता पढ्न लगाइन्थ्यो। त्यस्तै, एकपटक थ्री स्टार क्लबको फाइनल खेल हुँदा पनि प्रज्ञापारमिता पाठ गराइएछ। उनीहरू जिते छन् पनि।
‘यहाँको प्रज्ञापारमिता शक्तिशाली छ भनिन्छ। त्यसैले एउटा अक्षर पनि गलत पढ्यो भने धेरै पाप लाग्छ भन्ने जनविश्वास छ,’ सुदनले भने, ‘ज–जसले प्रज्ञापारमिता ग्रहण गर्छ, अध्ययन र प्रचार गर्छ, प्रतिलिपि निकाल्छ, उसले अपार पुण्य पाउँछ। ग्रन्थलाई जीर्णोद्धार गरेर पछिसम्म संरक्षण गर्नु पनि पुण्य बराबर त हो।’
Sources:setopati

𝐎𝐖𝐍 𝐋𝐈𝐅𝐄 𝐎𝐖𝐍 𝐃𝐑𝐄𝐀𝐌

𝙷𝚎𝚕𝚙𝚒𝚗𝚐_𝙷𝚊𝚗𝚍𝚜 𝙵𝚘𝚛_𝙰𝚕𝚕 ◉ᴛʜɪɴᴋ ʟɪᴛᴛʟᴇ ʙᴜᴛ ʙᴇᴛᴛᴇʀ◉ ɪ ᴡᴀs ᴀʙʟᴇ ᴛᴏ sᴇᴇ ʜᴜᴍᴀɴɪᴛʏ ᴏᴠᴇʀ ʜᴀᴛʀᴇᴅ ɪɴ ᴍʏ ᴇɴᴇᴍʏ's ᴇʏᴇs

0コメント

  • 1000 / 1000